Sita Ramesh Multiple Campus

Our Best Memories


शैक्षणिक विधि तालिम सम्पन्न

सीतारमेश बहुमुखी क्याम्पस, बुद्धशान्ति - १ , झापाको आयोजनामा शैक्षणिक विधि तालिम सम्पन्न भएको छ। विश्वविद्यालय अनुदान आयोग (UGC) को सहकार्यमा सञ्चालित सो तालिम २०८१/०२/ १७ देखि १९ गतेसम्म ३ दिन सञ्चालन भएको थियो। त्रिभुवन विश्वविद्यालयका प्रा. डा. महानन्द चालिसे र प्रा. डा. रमेश प्रसाद भट्टराईले सहजीकरण गर्नुभएको उक्त तालिममा सीतारमेश बहुमुखी क्याम्पससहित ६ वटा क्याम्पसका प्राध्यापकहरूको सहभागिता रहेको थियो। व्यवस्थापन सङ्कायमा अध्यापनरत प्राध्यापकहरूले तालिमबाट आफू धेरै नै लाभान्वित भएको बताउनुभयो । तालिम कार्यक्रमको उद्घाटन र समापन सत्रको सभाध्यक्षता क्याम्पस प्रमुख पुष्प रिजालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन RMC प्रमुख नेत्र प्रसाद नेपालले गर्नुभएको थियो।

अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा सरसफाई कार्यक्रम

सीतारमेश बहुमुखी क्याम्पस बुद्धशान्ति - १,अतिरिक्त क्रियाकलाप समिति (ECAC ) को आयोजनामा चिलिमगढी घाट सरसफाई कार्यक्रम सम्पन्न भएको छ । २०८० साल फागुन २३ गते बुधबार क्याम्पसका करिब ३५ जना विद्यार्थीहरु तथा प्राध्यापकहरूको सहभागितामा घाट सरसफाई गरिएको छ । सो सरसफाई कार्यक्रममा क्याम्पस प्रमुख श्री पुष्प रिजाल , क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री जयप्रसाद भण्डारीको समेत सहभागिता रहेको थियो। सरसफाइमा चिमिमगढी घाट समिति अध्यक्ष तथा उपाध्यक्ष द्वारा सरसफाइमा सहभागी हुँदै क्याम्पस परिवारलाई धन्यवाद प्रदान गर्नुभएको थियो । क्याम्पसको समुदायप्रतिको योगदानका कार्यक्रमहरु निरन्तर चलिरहने क्याम्पस प्रमुख पुष्प रिजालले बताउनुभयो ।

दाह्री ग्याङ् झपाको आयोजनामा सडक नाटक सम्पन्न

सीतारमेश बहुमुखी क्याम्पस , बुद्धशान्ति - १ झापाको क्याम्पस प्राङ्गणमा आज २०८० फागुन १६ गते बुधबार सडक नाटक मञ्चन भएको छ । दाह्री ग्याङ् झपाको आयोजनामा परिवर्तन थिएटर काँकरभिट्टाका कलाकारहरुले अभिनय प्रस्तुत गरेको सो कार्यक्रम बिहान ७:३० बाट ९ः०० बजेसम्म सञ्चालन भएको थियो । लागु औषध दुर्व्यसन विरुद्धको सचेतना वृद्धिका लागि देखाइएको नाटकमा कलाकारहरूले जीवन्त अभिनय गरेका थिए । क्याम्पसका विद्यार्थीहरू मन्त्रमुग्ध भएर नाटकको रसास्वदन गरेका थिए । सडक नाटक मञ्चन कार्यक्रममा बुद्धशान्ति गा.पा उपाध्यक्ष श्री भवानीप्रसाद खतिवडा , प्रमुख प्रशासकीय अधिकृत , क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री जयप्रसाद भण्डारी लगायत नव निर्वाचित समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

अवलोकन भ्रमणमा लुम्बिनी वाणिज्य क्याम्पस , बुटवल

सीतारमेश बहुमुखी क्याम्पस , बुद्ध शान्ति - १ झापाको अवलोकन भ्रमणमा गएको समूहले लुम्बिनी वाणिज्य क्याम्पस , बुटवलको क्याम्पस प्रशासनसँग अन्तरक्रिया गरेको छ I क्याम्पसबाट सञ्चालक समिति अध्यक्ष श्री पदमप्रसाद पोखरेलको नेतृत्वमा गएको समिति , सल्लाहकार समूह , प्राध्यापक , कर्मचारी लगायतको २४ सदस्यीय टोली ४ दिनको अवलोकन भ्रमणका क्रममा आज मिति २०८० पौष २५ गते बिहान क्याम्पस पुग्दा क्याम्पस प्रमुख ताराप्रसाद उपाध्याय लगायतले स्वागत गर्नु भएको थियो । अन्तरक्रिया कार्यक्रम क्याम्पसको शैक्षिक , भौतिक लगायत QAA विषयमा छलफल केन्दित रहेको थियो l QAA विषयका धेरैवटा जिज्ञासालाई बुझ्न अन्तरक्रियाले सहयोग गरेको क्याम्पस प्रमुख पुष्प रिजालले बताउनु भयो । अन्तरक्रियाले दुई क्याम्पस बिचको सम्बन्ध अझ न्यानो र गाढा भएको सञ्चालक समिति अध्यक्ष पदमप्रसाद पोखरेलले बताउनुभयो ।